चोरीको आरोप लगाएको रिसमा ब्याट्री व्यवसायीको हत्या, आरोपी पक्राउ
विराटनगर, ११ कार्तिक
विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका लालजीप्रसाद गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर–६ का ३७ वर्षीय अब्जर मिया रहेका छन्।
सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लका अनुसार मियालाई मंगलबार साँझ पक्राउ गरिएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गुप्ताले पसलको सामान चोरी गरेको आरोप लगाउँदै आएका कारण रिसइबी साँधेर मियाले उनको हत्या गरेको खुलेको छ।

प्रहरीका अनुसार शुक्रबार राति मियाले गुप्तालाई आफ्नो घरमा खाना खान बोलाएका थिए। सोही क्रममा दुवैले मदिरा सेवन गरेका थिए। मदिरा सेवनपछि मियाले सुरुमा बियरको बोतलले गुप्ताको टाउकोमा प्रहार गरेका थिए। त्यसपछि रडले समेत प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका गुप्ता लामो समयदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमा एक्लै बस्दै आएका थिए।
हत्या गरेपछि शव बोरामा हालेर खोलामा फालेको आरोप
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हत्या गरेपछि मियाले शव व्यवस्थापन गर्न सिटी सफारी प्रयोग गरेका थिए। उनले गुप्ताको शव बोरामा राखेर सुनसरीको बर्जु गाउँपालिका–२, भीमपुरस्थित केसेलिया खोलामा फालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आइतबार बिहान स्थानीयवासीले खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै एसपी मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसपछि प्रहरीले शवको पहिचान तथा घटनामा संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
संयुक्त टोलीद्वारा अनुसन्धान
घटनाको थप अनुसन्धान प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले गरिरहेको छ।
घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न सुनसरी प्रहरीले आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





