फल्स बटम बनाएर गाडीमा लुकाइएको ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
मकवानपुर, ११ कार्तिक
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, पिपलबोटबाट ४२ किलो ४१० ग्राम लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
२०८३ कात्तिक १० गते दिउँसो करिब १:३५ बजे महेन्द्र राजमार्गमा हेटौंडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR1AP6073 को गाडी शंकास्पद लागेपछि प्रहरीले जाँच गरेको थियो। सोही क्रममा गाडीमा फल्स बटम बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट प्रहरी नायब निरीक्षक प्रमोद प्रसाद साहको कमाण्डमा खटिएको टोलीले गाडीको बोनट, चालकको सिटमुनि खुट्टा राख्ने स्थान तथा चालकतर्फको सिटमुनि लुकाइएको गाँजा फेला पारेको हो।
प्रहरीले गाँजासहित गाडी चालक भारतको वैशाली जिल्ला, महुवा टोल निवासी करिब २५ वर्षीय बिर्जु कुमार राय र सोही स्थानका करिब २६ वर्षीय मन्जय कुमार रायलाई नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जना र बरामद गरिएको लागुऔषध गाँजाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





