‘अर्नब’ चक्रवातको प्रभाव हिजोदेखि देशभर वर्षाको प्रभाव, आज ७ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, १३ कार्तिक
देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भइरहेको हो।
नेपाल मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा अन्य भूभागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
विभागका अनुसार रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। अधिकांश भूभागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्नेछ।
मौसमविद् विनोद पोखरेलका अनुसार रातभर कोसीदेखि वाग्मती प्रदेशसम्मका अधिकांश स्थानमा एकनासको हल्का वर्षा भएको छ। मध्यरातपछि लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागमा समेत वर्षा सुरु भएको उनले बताएका छन्।
पोखरेलले दिनभर मौसमको अवस्था लगभग यस्तै रहने अनुमान गर्दै अपराह्न वा साँझदेखि पूर्वी नेपालको आधा भूभागमा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन्।
“विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले बढी सजग रहनुपर्ने देखिन्छ,” उनले भनेका छन्।
सम्भावित भारी वर्षा, हावाहुरी, चट्याङ र हिमपातलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





