देशभर मनसुन सक्रिय : आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
सक्रिय मनसुनका कारण देशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ। भारीदेखि अति भारी वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् र विपद् प्राधिकरणको आग्रह।

काठमाडौं , ३ साउन
देशभर मनसुनको प्रभाव थप सक्रिय बनेसँगै आज (आइतबार) अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि तथा पूर्वतर्फ सरदर स्थान आसपास रहेकाले वर्षाको गतिविधि बढेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभरका हिमाली, पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशभर अधिकांश स्थानमा बदली रहने र कोशी, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेस र बागमती प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यधिक वर्षाका कारण आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?


