सत्य, निष्पक्ष र विश्वसनीय

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंहले पुनः सम्हाले पदभार

न्युज डेस्क
२०८३ भाद्र ३१, बुधबार १५:१२

वीरगञ्ज, ३१ भदौ
नागरिकतासम्बन्धी विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पुनः पदभार ग्रहण गरेका छन्।
विशेष अदालतको सोमबारको इजलासले सिंहलाई सफाइ दिएसँगै उनको निलम्बन फुकुवा भएको थियो। निलम्बन फुकुवा भएपछि उनी बुधबार वीरगञ्ज महानगरपालिकाको कार्यालय पुगेर धार्मिक विधिअनुसार पूजापाठ गरी नियमित काममा फर्किएका हुन्।
कार्यालयमा प्रवेश गर्ने क्रममा महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समर्थकहरूले सिंहलाई स्वागत गरेका थिए। त्यसपछि उनले आफ्नो कार्यकक्षमा पूजापाठ गरी औपचारिक रूपमा पदभार सम्हालेका हुन्।
अख्तियारले नागरिकतासम्बन्धी विवादलाई लिएर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए। विशेष अदालतबाट सफाइ पाएपछि भने उनीमाथिको निलम्बन हटेको हो।
पदभार ग्रहण गरेसँगै मेयर सिंहले महानगरपालिकाको नियमित प्रशासनिक तथा विकाससम्बन्धी कामलाई निरन्तरता दिने भएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?