सत्य, निष्पक्ष र विश्वसनीय

पर्साका प्रहरी र थुनुवालाई वीरगन्ज हेल्थ केयरमा निःशुल्क उपचार

न्युज डेस्क
२०८३ आश्विन १, बिहीबार १४:०५

वीरगञ्ज, १ असोज
पर्सा जिल्लामा कार्यरत नेपाल प्रहरीका कर्मचारी तथा प्रहरी हिरासतमा रहेका थुनुवाहरूले वीरगन्ज हेल्थ केयर हस्पिटलबाट निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगन्ज हेल्थ केयर हस्पिटलबीच असोज १ गतेदेखि लागू हुने गरी एक वर्षसम्म प्रहरी कर्मचारी तथा हिरासतमा रहेका थुनुवाहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको हो।
सम्झौताअनुसार हरेक शुक्रबार अस्पतालका तर्फबाट चिकित्सकसहित चार सदस्यीय टोली जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर प्रहरी कर्मचारी तथा थुनुवाहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछ।
स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका प्रहरी कर्मचारी तथा थुनुवालाई वीरगन्ज हेल्थ केयर हस्पिटलमा लगेर नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले तोकेको दररेटअनुसार उपचार सेवा उपलब्ध गराइने सम्झौतामा उल्लेख छ।
त्यसैगरी, आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम तथा डायलाइसिस सेवा समेत निःशुल्क उपलब्ध गराइने अस्पतालका अध्यक्ष तथा सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिए।
प्रहरी कर्मचारी तथा थुनुवामा नशा, मुटु तथा स्पाइनल इन्जुरीजस्ता जटिल स्वास्थ्य समस्या देखिएमा विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत नियमानुसार एक लाख रुपैयाँसम्मको उपचार छुट उपलब्ध गराइने अन्सारीले बताए।
न्यायिक हिरासतमा रहेका अभियुक्त (थुनुवा) लाई आकस्मिक स्वास्थ्य परीक्षण वा उपचार आवश्यक परेको अवस्थामा प्रहरी कार्यालयमै अस्पतालका चिकित्सक उपलब्ध गराई निःशुल्क आकस्मिक स्वास्थ्य परीक्षणसमेत गरिने उनले जानकारी दिए।
नेपालको संविधानले सुनिश्चित गरेको नागरिकको स्वास्थ्यसम्बन्धी हकको संरक्षण तथा प्रवर्द्धन गर्दै न्यायिक हिरासतमा रहेका नागरिक र प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण तथा उपचारमा सहज पहुँच पुर्‍याउने उद्देश्यले अस्पतालसँग सम्झौता गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले बताए।
सम्झौता हस्ताक्षर कार्यक्रममा प्रहरी उपरीक्षक भट्टराई, प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल तथा अस्पतालका तर्फबाट अध्यक्ष डा. अबुल हैस अन्सारी र प्रशासन प्रमुख भूमीका अधिकारीको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?