भ्रष्टाचार मुद्दामा वीरगन्जका निलम्बित मेयर राजेशमान सिंहले पाए सफाइ
काठमाडौं, २९ भदौ
वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई नै सफाइ दिएको हो।
विशेष अदालतको आदेशसँगै सिंहमाथि लागेको निलम्बन फुकुवा भएको छ। यससँगै उनी पुनः वीरगन्ज महानगरपालिकाको मेयर पदमा फर्किने बाटो खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्थाअनुसार सिंह मेयर पदबाट निलम्बित भएका थिए।
अख्तियारले सिंहमाथि अर्काकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी झूटो विवरणका आधारमा नागरिकता दिलाएको आरोप लगाएको थियो। तर सिंहले भने सम्बन्धित महिला आफ्नी दोस्रो श्रीमती भएको दाबी गर्दै आएका थिए।
अख्तियारले सिंहसँगै वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
विशेष अदालतको सफाइसँगै लामो समयदेखि विवादमा रहेको उक्त प्रकरणमा सिंहले कानुनी राहत पाएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





