सत्य, निष्पक्ष र विश्वसनीय

आईजीपी दानबहादुर कार्कीलाई बर्खास्त गर्न संसद्मै उठ्यो आवाज

न्युज डेस्क
२०८३ भाद्र २९, सोमबार १७:४२

काठमाडौं, २९ भदौ
नेपाल प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोप प्रतिनिधिसभाको बैठकमा समेत उठेको छ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आईजीपी कार्कीलाई तत्काल बर्खास्त गरी छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुनारले प्रहरीका तल्लो तहका कर्मचारीले प्रयोग गर्ने जुत्ता, मोजा तथा लत्ताकपडा खरिदमा समेत अनियमितता भएको आरोप आईजीपी कार्कीमाथि लागेको बताए।
उनले गम्भीर आरोप लाग्दा पनि सरकारले आईजीपी कार्कीमाथि छानबिन अघि नबढाएको भन्दै प्रश्न उठाए। ‘सामान्य आरोपका आधारमा मन्त्रीहरू बर्खास्त हुने तर करोडौँ भ्रष्टाचारको आरोप लागेका आईजीपीलाई किन संरक्षण गरिएको हो?’ भन्दै उनले सरकारसँग जवाफ मागे।
सुनारले आईजीपी कार्की, उनकी श्रीमती तथा केही उच्च प्रहरी अधिकारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको दाबीसमेत गरे। उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसद्को सार्वजनिक लेखा समितिसम्म उजुरी तथा गुनासाहरू पुगेका छन्।
प्रहरी संगठनको नेतृत्वमाथि नै भ्रष्टाचारको आरोप लागेपछि सरकारले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने सांसद सुनारको भनाइ थियो।
नोट: आईजीपी कार्कीमाथि लगाइएका भ्रष्टाचारसम्बन्धी आरोपहरू सांसद सुनारले संसद्मा व्यक्त गरेका दाबी हुन्। ती आरोप पुष्टि भएको तथ्यका रूपमा भने प्रस्तुत गरिएको छैन।
साभार : हिमाल पोस्ट

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?