बिहीबारदेखि आइतबारसम्म पदयात्रा र पर्वतारोहण नगर्न पर्यटन मन्त्रालयको आग्रह
काठमाडौं, ७ असोज
खराब मौसमका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असोज ८ देखि ११ गतेसम्म पर्यटकीय क्षेत्रको भ्रमण, पदयात्रा तथा पर्वतारोहण नगर्न आग्रह गरेको छ।
मन्त्रालयले बुधबार सूचना जारी गर्दै पदयात्रा तथा पर्वतारोहणमा रहेका आन्तरिक र विदेशी पर्यटकलाई असोज ८ गतेभित्रै नजिकको सुरक्षित बासस्थानमा पुगेर बस्न आग्रह गरेको हो। मौसमको पूर्वानुमान तथा सम्बन्धित आधिकारिक निकायको सूचना हेरेर असोज ११ गतेपछि मात्र यात्रा पुनः सुरु गर्न मन्त्रालयले अनुरोध गरेको छ।

पर्वतारोहण तथा पदयात्राको अनुमति लिइसकेका पर्यटकको यात्रा मिति सार्नुपर्ने अवस्था आए सम्बन्धित व्यवसायीलाई आवश्यक समन्वय र सहजीकरण गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। यात्रामा रहेका पर्यटकलाई सुरक्षित बासस्थान र आवश्यक सहयोग उपलब्ध गराउन होटल व्यवसायी तथा स्थानीय बासिन्दालाई ‘अतिथि देवो भव’को भावनाअनुसार सहयोग गर्न मन्त्रालयले अपिल गरेको छ।
मौसम प्रतिकूल हुँदा सञ्चार सम्पर्कसमेत अवरुद्ध हुन सक्ने भन्दै मन्त्रालयले यात्रामा रहेका व्यक्तिलाई आफ्नो अवस्था र बसोबास गरिरहेको स्थानबारे तत्काल परिवार तथा सम्बन्धित ट्रेकिङ एजेन्सीलाई जानकारी गराउन अनुरोध गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?



