झापामा जङ्गली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु
झापा, ३ कार्तिक
झापाको बाह्रदशी गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२, जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजवंशी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले दिएको जानकारीअनुसार सोमबार बिहान करिब ५:३० बजे प्रातःकालीन पदयात्रामा रहेका बेला बिरिङ खोला नजिकै दुईवटा जङ्गली हात्तीले उनीहरूमाथि अचानक आक्रमण गरेका थिए।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। त्यसैगरी, आक्रमणबाट घाइते भएका राजवंशीको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
एकै गाउँका दुई ज्येष्ठ नागरिकको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीय क्षेत्रमा शोक छाएको छ। यस घटनाले मानव र वन्यजन्तुबीचको द्वन्द्व तथा स्थानीय बासिन्दाको सुरक्षाबारे पुनः चिन्ता बढाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





