एनपीएलको तेस्रो सिजनमा पहिलोपटक डीआरएस प्रविधि प्रयोग हुने
काठमाडौं, ३ कार्तिक
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ।
एनपीएलको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार प्रतियोगितामा पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली भित्र्याउन लागिएको हो। यसलाई नेपाली क्रिकेटको इतिहासमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

डीआरएस प्रविधिको प्रयोगले खेलका क्रममा अम्पायरबाट हुने निर्णयलाई पुनरावलोकन गर्न सहज बनाउनेछ। यसले अम्पायरिङ निर्णयलाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालमा क्रिकेटको लोकप्रियता बढ्दै गइरहेका बेला एनपीएलमा आधुनिक प्रविधिको प्रयोगले प्रतियोगिताको स्तर थप उकास्ने विश्वास गरिएको छ। यसले खेलाडी, समर्थक तथा क्रिकेटप्रेमीमाझ प्रतियोगिताप्रतिको आकर्षणसमेत बढाउने अपेक्षा गरिएको छ।
दसैँको शुभकामना सन्देशसहित सार्वजनिक गरिएको यस घोषणाले नेपाली क्रिकेट समर्थकहरूमा थप उत्साह जगाएको छ। एनपीएलको तेस्रो सिजनमा डीआरएसको प्रयोगले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





