सत्य, निष्पक्ष र विश्वसनीय

स्पेनको ऐतिहासिक जित, अर्जेन्टिनालाई हराउँदै दोस्रो विश्वकप उपाधि

न्युज डेस्क
२०८३ श्रावण ४, सोमबार ०८:०१

काठमाडौं, ४ साउन
अतिरिक्त समयमा फेररान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै २०२६ फिफा विश्वकपको उपाधि जितेको छ।

अमेरिकाको न्यूजर्सीस्थित स्टेडियममा सम्पन्न रोमाञ्चक फाइनलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको अन्तिमतिर अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।

खेलाडी सङ्ख्याको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा निर्णायक गोल गर्‍यो। पेड्रो पोरोको क्रसलाई निको विलियम्सले हेडमार्फत फेररान टोरेसको दिशामा मिलाइदिएपछि टोरेसले उत्कृष्ट फिनिसिङ गर्दै स्पेनलाई अग्रता दिलाए, जुन गोल नै खेलको विजयी गोल बन्यो।

यस जितसँगै स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्न सफल भएको छ। युरो २०२४ को उपाधि जितेको स्पेनले उत्कृष्ट लयलाई निरन्तरता दिँदै विश्व फुटबलको सर्वोच्च उपाधि पनि आफ्नो नाममा पार्न सफल भएको छ।

यता, लियोनेल मेसीको कप्तानीमा रहेको साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जितेर नयाँ इतिहास रच्ने अवसरबाट वञ्चित भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?