सत्य, निष्पक्ष र विश्वसनीय

विश्वकप २०२६ को च्याम्पियन बन्न स्पेन र अर्जेन्टिना आमनेसामने, मेसी–यमाल भिडन्तमा विश्वको नजर

न्युज डेस्क
२०८३ श्रावण ३, आईतवार ०८:०१

फिफा विश्वकप २०२६ को फाइनलमा युरोपेली च्याम्पियन स्पेन र विश्व च्याम्पियन अर्जेन्टिना उपाधिका लागि भिड्दै। लियोनेल मेसीको अनुभव र लामिने यमालको युवा जोसबीचको प्रतिस्पर्धाले खेललाई थप रोमाञ्चक बनाउने अपेक्षा।

काठमाडौं . ३ साउन
फिफा विश्वकप फुटबल २०२६ को उपाधि भिडन्तमा युरोपेली च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा साविक विश्वविजेता अर्जेन्टिना आमनेसामने हुने भएका छन्। आइतबार राति अमेरिकाको न्युजर्सीमा हुने फाइनललाई अनुभव र युवा जोसको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

विश्व फुटबलका महान् खेलाडी लियोनेल मेसीका लागि यो अर्को विश्वकप ट्रफी उचाल्ने अवसर हुन सक्छ भने स्पेनका १९ वर्षीय स्टार विङ्गर लामिने यमालका लागि विश्व फुटबलमा नयाँ इतिहास रच्ने सुनौलो मौका हुनेछ।

अर्जेन्टिना साविक विजेताका रूपमा उपाधि रक्षा अभियानमा छ। कप्तान मेसीले यस विश्वकपमा आठ गोल र चार असिस्ट गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याउन निर्णायक भूमिका खेलेका छन्। क्वाटरफाइनल र सेमिफाइनलमा गोल गर्न नसके पनि उहाँका असिस्टले अर्जेन्टिनालाई जित दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएको थियो।

यता, स्पेनले भने प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको छ। समूह चरणपछि पोर्चुगल, बेल्जियम र फ्रान्सजस्ता बलिया टोलीलाई पराजित गर्दै स्पेन उपाधिनजिक पुगेको हो। प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले प्रतियोगितामा १२ गोल गर्दै केवल एक गोल मात्र बेहोरेको छ।

स्पेनको बल नियन्त्रणमा आधारित खेलशैली, रोड्री, पेड्री, फाबियन रुइज तथा लामिने यमालको उत्कृष्ट प्रदर्शन टोलीको मुख्य बल बनेको छ। अर्जेन्टिनाले भने मेसीसँगै जुलियन अल्भारेज, इन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजको योगदानमा भरोसा गरेको छ।

हालसम्म यी दुई टोलीबीच १४ अन्तर्राष्ट्रिय खेल भएका छन्। दुवैले समान ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा टुंगिएका छन्। विश्वकपमा भने उनीहरूको एकमात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिनाले स्पेनलाई २–१ ले पराजित गरेको थियो।

विश्व फुटबल समर्थकको प्रतीक्षामा रहेको यो फाइनलले नयाँ विश्व च्याम्पियनको इतिहास लेख्ने कि अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकप जित्ने भन्ने टुंगो लगाउनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?