सत्य, निष्पक्ष र विश्वसनीय

सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, चार घाइते र तीन बेपत्ता

न्युज डेस्क
२०८३ कार्तिक २, आईतवार ०७:१५
सिन्धुलीमा यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु, चार घाइते र तीन बेपत्ता

सिन्धुली, १ कार्तिक
सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने तीन जना बेपत्ता रहेका छन्।

प्राप्त विवरणअनुसार आइतबार बिहान करिब २:३० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको यात्रुवाहक जिप सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। दुर्घटनामा तीन महिलाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते चार जनालाई उद्धार गरी प्रारम्भमा उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा पठाइएको थियो। पछि उनीहरूलाई थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाइएको छ।

दुर्घटनामा घाइते हुनेमा जिप चालक ओखलढुंगाका करिब २९ वर्षीय आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई तथा दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्।

चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना बेपत्ता छन्। उनीहरूको खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमान्डमा सात जना प्रहरी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र गुरुङको कमान्डमा गोताखोरसहितको टोली परिचालन गरिएको छ।

संयुक्त सुरक्षा टोलीले सुनकोशी नदीमा बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेको छ। दुर्घटना हुनुको कारण, मृतकको पहिचान तथा बेपत्ता व्यक्तिहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?