सप्तकोसी नदीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, तीन बेपत्ता
धनकुटा, ८ कार्तिक
सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। आइतबार दिउँसो २ बजे धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
भोजपुरबाट बराहक्षेत्रतर्फ आउने क्रममा मोटरबोट दुर्घटना भएको हो। दुर्घटनाका बेला मोटरबोटमा १४ जना सवार रहेको बताइएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १ बाहिनीबाट पाँच जना गोताखोरसहित नौ जना, सुरक्षा बेस रामपुरबाट दुई जना डीएमसहित छ जना तथा विपद् व्यवस्थापन बेस चतराबाट पाँच जना डीएमसहित नौ जनाको टोली घटनास्थलमा खटिएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





