सत्य, निष्पक्ष र विश्वसनीय

पूर्व मुख्यमन्त्री लालबाबु राउतद्वारा वृद्ध सेवा आश्रम उद्घाटन

न्युज डेस्क
२०८३ जेष्ठ ३०, शनिबार २०:५१

वीरगञ्ज, ३० जेठ
नेपाल प्रौढ संघ पर्साले वीरगंज महानगरपालिका–१६ मा स्थापना गरेको वृद्ध सेवा आश्रमको उद्घाटन मधेश प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रदेशसभा सदस्य लालबाबु राउतले गरेका छन्।शनिबार आयोजित एक समारोहबीच आश्रमको उद्घाटन गर्दै राउतले ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कारका जीवित भण्डार भएको उल्लेख गर्दै उनीहरूप्रति सम्मान, संरक्षण र जिम्मेवारीको भावना अझ सुदृढ बनाउन आवश्यक रहेको बताए। उनले वृद्ध सेवा आश्रमको स्थापना र सञ्चालनले असहाय, अभिभावकविहीन तथा हेरचाहको आवश्यकता भएका ज्येष्ठ नागरिकहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरे।

नेपाल प्रौढ संघ पर्साका अध्यक्ष नन्द राउत अहिरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सल्लाहकार प्रकाश उपाध्यायले संस्थाको इतिहास, उद्देश्य तथा हालसम्मका गतिविधिबारे जानकारी गराएका थिए।

कार्यक्रममा सामाजिक अगुवा, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आश्रम व्यवस्थापन समितिले संस्थाको उद्देश्य, भावी योजना तथा ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराइने सेवा–सुविधाबारे जानकारी गराएको थियो।

सो अवसरमा नवगठित व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूको परिचय गराइएको थियो। उपस्थित अतिथिहरूले आश्रमको प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा आश्रम स्थापना तथा सञ्चालनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो। वीरगञ्ज तथा आसपासका क्षेत्रका ज्येष्ठ नागरिकहरूको सेवा, संरक्षण र हेरचाहमा आश्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?