सत्य, निष्पक्ष र विश्वसनीय

भारतीय महावाणिज्य दूतावासद्वारा सखुवा प्रसौनीमा योग कार्यक्रम सम्पन्न

न्युज डेस्क
२०८३ जेष्ठ ३०, शनिबार २०:५४

वीरगञ्ज, ३० जेठ
अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा भारतीय महावाणिज्य दूतावास, वीरगंजको आयोजनामा पर्साको सखुवा प्रसौनी गाउँपालिकामा शनिबार योग कार्यक्रम सम्पन्न भएको छ।

सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षता तथा मधेश प्रदेश सरकारका वन तथा वातावरण मन्त्री शंकर चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा योगको महत्व, स्वस्थ जीवनशैली तथा शारीरिक एवं मानसिक स्वास्थ्यमा योगले पुर्‍याउने योगदानबारे चर्चा गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले योगलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनको आधारका रूपमा अंगीकार गर्नुपर्नेमा जोड दिएका थिए। नियमित योग अभ्यासले विभिन्न रोगबाट बच्न, मानसिक तनाव कम गर्न तथा शारीरिक तन्दुरुस्ती कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा भारतीय महावाणिज्य दूतावास, वीरगञ्जका महावाणिज्य दूत देवी सहाय मीना, जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिष्टलगायत जनप्रतिनिधि, स्थानीय अगुवा, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जुन १३ देखि जुन २१, २०२६ सम्म विभिन्न स्थानमा हरेक दिन बिहान ५ः३० बजे योग कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। योगप्रति जनचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रमहरूको आयोजना गरिएको दूतावासले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?