टेम्पो भीरबाट खसेको घटनाबारे वन कर्मचारीको स्पष्टीकरण
कैलाली , ३१ जेठ
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाईमारे चुरे क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालिएको घटनाबारे डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन्।
वन कर्मचारीहरूले सामाजिक सञ्जालमा वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेको भन्दै फैलाइएका सूचना भ्रामक र तथ्यहीन रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार उक्त क्षेत्र चुरे अन्तर्गतको संवेदनशील वन क्षेत्र भएकाले लामो समयदेखि भइरहेका अवैध अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन हुँदै आएको छ।
संयुक्त विज्ञप्तिअनुसार भीरबाट खसेको भनिएको जीएसए टेम्पो चल्ने अवस्थामा नरहेको, यसको चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेल्नसमेत कठिन हुने अवस्थामा रहेको थियो। वन कर्मचारीहरूले उक्त टेम्पोलाई अतिक्रमित वन क्षेत्रमा पसल सञ्चालन गर्ने उद्देश्यले टहराको रूपमा प्रयोग गरिएको दाबी गरेका छन्।

विज्ञप्तिमा करिब एक महिनाअघि अतिक्रमण हटाउने क्रममा टेम्पोका सञ्चालक घनश्याम धामीलाई संरचना हटाउन निर्देशन दिइएको उल्लेख छ। त्यस क्रममा अन्य १० वटा छाप्रा हटाइए पनि उनले अटेर गरेको र वन कर्मचारीहरूले टेम्पोलाई धकेलेर घरसम्म पुर्याइदिएको जनाइएको छ। तर पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको दाबी गरिएको छ।
वन कर्मचारीहरूका अनुसार जेठ २९ गते पुनः अतिक्रमण हटाउने क्रममा टेम्पो हटाउन आग्रह गर्दा सम्बन्धित व्यक्तिले अस्वीकार गरेका थिए। त्यसपछि वन टोलीले बल प्रयोग गरी टेम्पो पन्छाउने प्रयास गर्दा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको हो।
वन कर्मचारीहरूले कानुनबमोजिम गरिएको वन संरक्षण तथा अतिक्रमण नियन्त्रणको कार्यलाई अतिरञ्जित र भ्रामक ढंगले प्रचारप्रसार नगर्न तथा घटनाको यथार्थ बुझ्न सबैसँग आग्रह गरेका छन्।
यता टेम्पो सञ्चालक पक्षले भने वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेर आफ्नो जीविकोपार्जनको आधार नष्ट गरेको आरोप लगाउँदै न्यायको माग गरेका छन्। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
घटनाबारे थप अनुसन्धानको आवश्यकता रहेको भन्दै स्थानीय तह र सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराइएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




