सत्य, निष्पक्ष र विश्वसनीय

जनताको म्याण्डेटको सम्मान गर्दै राष्ट्रिय समस्याको समाधानमा सरकार गम्भीर बन्नुपर्छ : उपेन्द्र यादव

न्युज डेस्क
२०८३ जेष्ठ ३१, आईतवार १७:१३

दिपेन्द्र बि. सी.

वीरगञ्ज, ३१ जेठ
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले देशमा विद्यमान राष्ट्रिय समस्याहरूको समाधानका लागि सरकारले जनताको जनादेश (म्याण्डेट) लाई सम्मान गर्दै छिटो र परिणाममुखी कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ।

रिपोटर्स क्लब नेपाल, पर्सा शाखाद्वारा वीरगञ्जमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष यादवले संविधान संशोधन, सुकुम्बासी समस्या तथा किसानका समसामयिक मुद्दाहरूलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

रिपोटर्स क्लब नेपाल, पर्सा शाखाका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजनीतिक नेता, सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादवले वर्तमान संविधानमा रहेका त्रुटि र कमजोरीहरूलाई सच्याउन संविधान संशोधन अपरिहार्य रहेको धारणा राख्नुभयो। मधेशी, आदिवासी जनजाति, दलित, महिला तथा सीमान्तकृत समुदायका अधिकारलाई पूर्ण रूपमा सुनिश्चित गर्न संविधान परिमार्जन आवश्यक रहेको उहाँको भनाइ थियो।

सुकुम्बासी समस्याको विषयमा बोल्दै उहाँले भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको स्थायी व्यवस्थापनका लागि सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। यस्तै, किसानहरूले अझै पनि समयमा मल, बीउ, सिँचाइ सुविधा र आफ्नो उत्पादनको उचित मूल्य नपाएको उल्लेख गर्दै किसानका समस्या समाधान नगरी देश आर्थिक रूपमा समृद्ध हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।

“किसानका समस्या समाधान नगरी देश आर्थिक रूपमा समृद्ध हुन सक्दैन। सरकारले किसानका लागि विशेष राहत तथा दीर्घकालीन योजना ल्याउनुपर्छ,” अध्यक्ष यादवले भन्नुभयो।

उहाँले बढ्दो महँगीका कारण आम नागरिक प्रभावित भएको र उद्योग–व्यापार विस्तार हुनुको सट्टा खुम्चिँदै जाँदा रोजगारीका अवसरसमेत गुम्दै गएको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल तथा मधेश प्रदेशका पूर्वमन्त्री रमेश पटेलको उपस्थिति रहेको थियो।

त्यसैगरी, जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव रितेश कुमार गुप्तालगायत स्थानीय नेता, कार्यकर्ता तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?