सत्य, निष्पक्ष र विश्वसनीय

कांग्रेस कमजोर अवस्थामा पुगेको, एकता नै विकल्प : डा. सशांक कोइराला

न्युज डेस्क
२०८३ जेष्ठ ३१, आईतवार २०:४६

विराटनगर, ३१ जेठ
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशांक कोइरालाले नेपाली कांग्रेस अहिले अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टीलाई सशक्त बनाउन एकता अपरिहार्य रहेको बताएका छन्।

कांग्रेस इतर समूहले विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले पार्टी दुई धारमा विभाजित भएको उल्लेख गर्दै त्यसको समाधान एकता मात्रै भएको बताए। उनले एकताका लागि दुवै पक्ष जिम्मेवार र लचिलो बन्नुपर्ने धारणा राखे।

लामो समयपछि विराटनगरस्थित कोइराला निवास पुगेको स्मरण गर्दै डा. कोइरालाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले जनताको हितका लागि राजनीति गरेको चर्चा गरे। “बीपीले आफ्नो लागि होइन, जनताका लागि पार्टी बनाउनुभएको हो। आज हामीले सोच्नुपर्ने बेला आएको छ– हामी कसका लागि राजनीति गर्दैछौँ ?” उनले प्रश्न गरे।

उनले २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मुलुकले विकास र परिवर्तनको महत्वपूर्ण फड्को मारेको स्मरण गर्दै वर्तमान नेतृत्व बाटो बिराएको आरोप लगाए।

महामन्त्री गगन थापाको कार्यशैलीप्रति संकेत गर्दै उनले पार्टीलाई एक व्यक्तिले मात्र चलाउन नसक्ने बताए। “के उहाँ एक्लैले पार्टी चलाउन सक्नुहुन्छ ? सबै नेताहरूलाई एकातिर पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्रै हो,” उनले भने।

डा. कोइरालाले आधुनिकीकरण र परिवर्तनका कुरा गर्नेहरूले सबैभन्दा पहिले आफूभित्र परिवर्तन ल्याउनुपर्ने बताए। पार्टीभित्रको आन्तरिक कलह र विभाजनलाई दुर्भाग्यपूर्ण भन्दै उनले ८० वर्षको इतिहास बोकेको कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रमै नकारात्मक असर पर्ने चेतावनी दिए।

अदालतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले सर्वोच्च अदालतको एउटा निर्णय गलत भएको दाबी गरे र त्यसको असर अहिले पार्टीले भोगिरहेको टिप्पणी गरे।

कांग्रेस दोस्रो पार्टीमा सीमित भएकोमा दुःख व्यक्त गर्दै उनले गाउँ–गाउँमा अझै पनि कांग्रेसप्रति जनताको आकर्षण रहेको दाबी गरे। “गाउँमा कांग्रेस नै कांग्रेस देखिन्छ, तर एकता नहुँदा भोट आएन,” उनले भने।

संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरण र राष्ट्रको उज्ज्वल भविष्यका लागि नेपाली कांग्रेस एक ढिक्का हुनुपर्नेमा उनले जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?