डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीद्वारा दुई जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान
वीरगञ्ज,४ असार
वीरगञ्जस्थित डी’ चिल्ड्रेन गार्डेन मन्टेसरीले विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।विद्यालयले “स्कुल अफ दि मन्थ” कार्यक्रमअन्तर्गत यस वर्षदेखि छात्रवृत्ति वितरण अभियान सुरु गरेको हो। विद्यालयकी सञ्चालक तथा प्रधानाध्यापक रोशनी श्रीवास्तवले महानगरपालिकाको कुनै कार्यक्रम अन्तर्गत नभई विद्यालयकै एवं मेरो निजि पहलमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिइन्।
उनका अनुसार यो अभियान यस वर्ष दुई जना विद्यार्थीबाट सुरु गरिएको हो भने आगामी वर्षहरूमा छात्रवृत्तिको दायरा थप विस्तार गरिनेछ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा वीरगञ्ज महानगरपालिका–१६ नगवाका एलकेजीमा अध्ययनरत प्रीयान्स श्रीवास्तव तथा वीरगञ्जको कुम्हालटोल निवासी जय रौनियार रहेका छन्।
विद्यालयले दुवै विद्यार्थीका अभिभावकलाई विद्यालयमा आमन्त्रण गरी सम्मानपत्रसहित छात्रवृत्ति प्रदान गरेको जनाएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक श्रीवास्तवले विगत सात वर्षदेखि विद्यालयलाई निरन्तर अगाडि बढाउन विभिन्न चुनौती र संघर्षको सामना गर्दै आएको बताइन्। गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो।
विद्यालयले आगामी दिनमा यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिँदै थप विद्यार्थीलाई लाभान्वित गर्ने योजना रहेको जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




