पर्साको सीमावर्ती क्षेत्रमा अवैध रूपमा भित्र्याइँदै गरेका ६ सय प्रतिबन्धित चल्ला बरामद
वीरगञ्ज , ९ असार
पर्साको जगरनाथपुर गाउँपालिका–३ जमुनिया स्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका ६ सय वटा प्रतिबन्धित हाँस तथा कुखुराका चल्ला सशस्त्र प्रहरी बलले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट खटिएको गस्ती टोलीले सीमाक्षेत्रमा निगरानी गर्ने क्रममा शंकास्पद गतिविधि देखेपछि विशेष निगरानी बढाएको थियो। सोही क्रममा दुई जना व्यक्तिले साइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेका चल्लाहरू प्रहरी टोलीलाई देख्नासाथ छाडेर साइकलसहित भारततर्फ फरार भएका थिए।
बरामद गरिएका हाँस तथा कुखुराका चल्लाको अनुमानित मूल्य करिब १ लाख ८० हजार रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
पशुजन्य संक्रामक रोग फैलिने जोखिमलाई मध्यनजर गर्दै बरामद चल्लाहरू पशु चिकित्सक, स्थानीय भद्रभलाद्मी तथा नेपाल प्रहरीको रोहवरमा बीओपी परिसर नजिकैको खाली जग्गामा खाडल खनेर नष्ट गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
घटनामा संलग्न व्यक्तिहरुको खोजी तथा आवश्यक अनुसन्धान कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




