सत्य, निष्पक्ष र विश्वसनीय

विषादीरहित खेती प्रवर्द्धनमा जोड, १२ दिने तालिमपछि किसानलाई प्रमाणपत्र वितरण

न्युज डेस्क
२०८३ असार ९, मंगलवार १५:४३

पर्सा, ९ असार

पर्साको जिराभवानी गाउँपालिका–४, सुपौलीस्थित श्रीराम जानकी ए.पी.एम. कृषक पाठसालाले कृषक दिवस तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको उद्घाटन जिराभवानी गाउँपालिका–४ का वडाध्यक्ष राजेश्वर दास थारुले गरेका थिए।

कृषि ज्ञान केन्द्र वीरगञ्ज, पर्साको सहयोगमा सञ्चालित कार्यक्रममा किसानहरूलाई विषादीरहित चैते धान (हर्दिनाथ–१०) खेतीसम्बन्धी १२ दिने तालिम प्रदान गरिएको थियो। आयोजकका अनुसार उक्त तालिम प्रत्येक शनिबार सञ्चालन गरिएको थियो।

कार्यक्रममा अन्नबालीमा प्रयोग हुने विषादीको प्रयोग न्यूनीकरण गर्दै सुरक्षित तथा दिगो कृषि अभ्यासबारे किसानलाई सचेत गराउने उद्देश्य राखिएको थियो। साथै, अन्नबालीमा बढ्दो विषादी र रासायनिक मलको प्रयोगले मानव स्वास्थ्यमा पर्ने अल्पकालीन तथा दीर्घकालीन असरबारे जानकारी गराउँदै यसको विकल्पका रूपमा जैविक तथा वातावरणमैत्री कृषि प्रणाली अपनाउनुपर्नेमा जोड दिइएको थियो।

तालिम सफलतापूर्वक सम्पन्न गरेका किसानहरूलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो। यस अवसरमा एक क्विन्टल गाई वा भैँसीको गोबरमा ६०० ग्राम ट्राइकोडर्मा मिसाएर घरमै सहज रूपमा जैविक मल उत्पादन गर्ने व्यावहारिक विधिबारे समेत जानकारी गराइएको थियो।

कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख रामजीवन ठाकुर तथा बाली संरक्षण अधिकृत उमेश थापाले विषादीरहित कृषि उत्पादनको महत्वबारे धारणा राखेका थिए। कार्यक्रमको सहजीकरण रामजनम महतो थारुले गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?