नाला निर्माण नगरी सडक ढलान गर्न खोजिएपछि स्थानीयको विरोध
वीरगञ्ज, १४ असार
मधेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित कृषि औजार कारखाना अगाडिको मुख्य सडकमा नाला निर्माण नगरी सडक ढलान गर्न ठेक्का दिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्।
सामान्य वर्षा हुँदा समेत सडकमा पानी जम्ने समस्याबाट पीडित स्थानीयले शुक्रबार ठेकेदार कम्पनीले ढलानको काम अगाडि बढाउन खोजेपछि कामप्रति असन्तुष्टि व्यक्त गर्दै विरोध गरेका हुन्।
भौतिक पूर्वाधार विकास कार्यालयले ४३ लाख २० हजार रुपैयाँको लागतमा वीरगञ्जस्थित मिश्रा निर्माण सेवालाई सडक तथा नाला निर्माणको ठेक्का दिएको हो। तर, सम्झौतापत्रमा नाला निर्माणसमेत उल्लेख भए पनि नाला नबनाई सडक ढलान गर्न लागिएको भन्दै स्थानीयले प्रश्न उठाएका छन्।
स्थानीयका अनुसार विगतमा कालोपत्रे गरिएको उक्त सडकलाई आवश्यक प्राविधिक प्रक्रिया पूरा नगरी ढलान गर्न खोजिएको छ। उनीहरूले पुरानो कालोपत्रे सडक नउखाली त्यसमाथि नै ढलान गर्ने तयारी गरिएको आरोप लगाएका छन्।
भौतिक पूर्वाधार विकास कार्यालयका प्राविधिकका अनुसार ढलान गर्नु अघि पुरानो कालोपत्रे हटाई ग्रेडिङ गर्ने, ग्राभेल बिछ्याउने, फलामे डन्डी राख्ने लगायतका प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। तर, ठेकेदारले ती प्रक्रिया अवलम्बन नगरी खाल्डाखुल्डी मात्र पुरेर ढलान गर्ने तयारी गरेको स्थानीयको दाबी छ।
स्थानीयले कार्यालयका इन्जिनियर र ठेकेदारबीच मिलेमतो भएको आरोपसमेत लगाएका छन्। यता, भौतिक पूर्वाधार विकास कार्यालयका प्राविधिक युवराज पटेलले भने सम्झौताअनुसार ठेकेदारले गुणस्तरीय निर्माण कार्य गर्नुपर्ने बताए। उनले वडाध्यक्ष अजय चौरासियाको समन्वयमा निर्माण कार्य अगाडि बढाइएको जानकारी दिएका छन्।
स्थानीयले नाला निर्माणसहित सम्झौताअनुसार गुणस्तरीय सडक निर्माण गर्न माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




