वीरगन्जमा टीभीएस कार्यालयमा प्रहरी छापा, एक कर्मचारी नियन्त्रणमा
वीरगन्ज , १९ असार
वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले वीरगन्जस्थित टीभीएस मोटरसाइकल कम्पनीको कार्यालयमा छापा मारी एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
प्रहरी निरीक्षक नविन थापा मगरको नेतृत्वमा गएको टोलीले यातायात व्यवस्था कार्यालय नजिक रहेको कम्पनीको कार्यालयमा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा छापा मारेको हो।
प्रहरी निरीक्षक थापा मगरका अनुसार छापाका क्रममा कार्यालयबाट केही महत्वपूर्ण कागजातहरू समेत नियन्त्रणमा लिइएको छ। ती कागजातहरूको अध्ययन तथा अनुसन्धान भइरहेको उनले बताए।
नियन्त्रणमा लिइएका कर्मचारी र बरामद कागजातलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेकाले अनुसन्धानको निष्कर्ष आएपछि विस्तृत विवरण सार्वजनिक गरिनेछ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




