सत्य, निष्पक्ष र विश्वसनीय

कालिकामाइमा नि:सुल्क आँखा शिविर सम्पन्न

न्युज डेस्क
२०८३ जेष्ठ २४, आईतवार १७:०४

वीरगञ्ज, २४ जेठ
पर्साको कालिकामाइ गाउँपालिका वडा नं. ४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीबलुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा तथा विद्यालयका विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो।
शिविरको उद्घाटन नेपाल नेत्रज्योति संघ पर्साका सभापति भगवती चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्मी प्रमुख अतिथि तथा कालिकामाइ गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष संजय कुमार साह विशिष्ट अतिथिको रूपमा सहभागी रहेका थिए।

कार्यक्रममा बोल्दै सभापति चौधरीले शरीरका सबै अंगमध्ये आँखा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आँखाको संरक्षण र नियमित परीक्षण आवश्यक रहेको बताए। “आँखा नै यस्तो अंग हो जसको माध्यमबाट हामी संसार देख्न सक्छौं। आँखा नभए जीवन अधुरो हुन्छ, त्यसैले हाम्रो संस्थाले आँखा परीक्षणलाई पहिलो प्राथमिकतामा राखेको छ,” उनले बताए।
शिविरमा स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका उपसभापति मदन प्रसाद गुप्ता साह तेली, सचिव सिताराम उपाध्याय, फुलमहम्मद मियाँ, मधुसूदन उपाध्याय, उमेश गुप्ता, गणेश प्रसाद साहलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, प्राविधिक सहयोग शिवशंकर प्रसाद, मुकुन्द खत्री र अञ्जली चौधरीले गरेका थिए। कार्यक्रमको जानकारी कार्यसमिति सदस्य राजन श्रीवास्तवले दिएका हुन्।
कार्यक्रमको समापनमा विद्यालयका प्रधानाध्यापक इन्द्रदेव प्रसाद कुर्मीले आयोजक संस्था, प्राविधिक टोली तथा उपस्थित सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्दै ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?