उज्यालो वीरगंज’ अभियानले फेरिँदै वीरगञ्जको स्वरूप
वीरगंज, ५ असार
वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘उज्यालो वीरगंज’ अभियान अन्तर्गत सहरका मुख्य चोक, धार्मिक स्थल, पार्क, पुल, सडक डिभाइडर तथा गाउँ–टोलसम्म आधुनिक बत्ती जडान र विद्युत व्यवस्थापन सुधारका कार्यलाई तीव्रता दिएपछि वीरगञ्जको रात्रीकालीन स्वरूपमा उल्लेखनीय परिवर्तन आएको छ ।

सहरको पहिचान बोकेको घण्टाघर, शंखधर साख्वा पार्क, गहवामाई मन्दिर, बौधीमाई मन्दिर, रामजानकी मन्दिर, गीता मन्दिर, विन्दवासिनी मन्दिर, तिलावे पुल लगायतका क्षेत्रमा आधुनिक बत्ती जडान गरिएपछि ती क्षेत्रहरू रातिको समयमा झिलिमिली र आकर्षक बनेका छन् ।
त्यसैगरी, घण्टाघरदेखि पावरहाउस चोकसम्मको सडक डिभाइडरमा आधुनिक बत्ती जडान गरिएपछि उक्त सडकखण्डको सौन्दर्य मात्र नभई रातिको आवत–जावत पनि थप सुरक्षित र सहज भएको छ ।

वीरगञ्ज–रक्सौल सीमाक्षेत्र पनि अहिले नेपालकै आधुनिक र व्यवस्थित नाकामध्ये एकका रूपमा परिचित बन्दै गएको छ ।रातिको समयमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरूलाई यो क्षेत्र विदेशको आधुनिक सहरझैँ उज्यालो, व्यवस्थित र आकर्षक देखिने गरेको छ । आधुनिक प्रकाश व्यवस्था, सुन्दर सजावट र व्यवस्थित सडक संरचनाले सीमावर्ती क्षेत्रको स्वरूप नै परिवर्तन गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले सडक बत्ती मर्मत, नयाँ बत्ती जडान तथा विद्युत लाइन सुधारका कार्यलाई निरन्तरता दिएको जनाएको छ । वीरगंज मशानगरपालिका विद्युत शाखाका प्रमुख युवा इन्जिनियर राजीव उपाध्यायको सक्रियतामा विद्युत आपूर्तिसम्बन्धी प्राविधिक समस्या समाधान, अनियमित विद्युत व्यवस्थापन सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ ।
महानगरपालिकाले सहरका मुख्य व्यापारिक तथा धार्मिक क्षेत्रसँगै गाउँ–गाउँ र टोल–टोलसम्म विकासका काम विस्तार गर्दै ‘उज्यालो सहर’को अवधारणालाई व्यवहारमा उतारिरहेको जनाएको छ ।

स्थानीयवासीहरूका अनुसार, पहिले रातिको समयमा अन्धकार हुने धेरै स्थानहरू अहिले पूर्ण रूपमा उज्यालो बनेका छन् । यसले नागरिकको सुरक्षामा सुधार ल्याउनुका साथै रातिको समयमा सहज आवत–जावत, व्यापारिक गतिविधि विस्तार र सार्वजनिक स्थलहरूको आकर्षण वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको छ ।

शंखधर साख्वा पार्कको शान्त र मनमोहक वातावरण, झिलिमिली बत्तीले सजिएको घण्टाघर, उज्यालो बनेका मन्दिर परिसरहरू, आधुनिक बत्तीले सुसज्जित तिलावे पुल र सीमाक्षेत्रको आकर्षक दृश्यले अहिले वीरगञ्जलाई नयाँ पहिचान दिइरहेको छ ।
महानगरपालिकाले मुख्य सहरी क्षेत्रसँगै ग्रामीण बस्तीहरूलाई पनि समान प्राथमिकतामा राख्दै विकासका काम अघि बढाइरहेको छ । ‘उज्यालो वीरगंज’ अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा बाँकी क्षेत्रहरूमा समेत आधुनिक प्रकाश व्यवस्था विस्तार गर्ने लक्ष्य लिइएको जनाएको छ।
उज्यालो, सुरक्षित, व्यवस्थित र आधुनिक वीरगंज निर्माणतर्फको यो अभियान अहिले वीरगंजको नयाँ परिचय बन्दै गएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




