वीरगञ्ज भन्सार कार्यालयद्वारा टीआरएस सर्वेक्षणमा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण
वीरगञ्ज, ११ असार
नेपाल सरकार अर्थ मन्त्रालयअन्तर्गत वीरगञ्ज भन्सार कार्यालयमा सञ्चालन गरिएको टाइम रिलिज स्टडी (TRS) वास्तविक सर्वेक्षणमा सहभागी हरि खेतान बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख काजीबाबु कोइरालाले एक समारोहबीच २० जना विद्यार्थीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो। २०८२ साल चैत २२ गतेदेखि २८ गतेसम्म (५–११ अप्रिल २०२६) सञ्चालन भएको टीआरएस वास्तविक सर्वेक्षणमा विद्यार्थीहरूले गणनाकर्ता (Enumerator) का रूपमा सक्रिय सहभागिता जनाएका थिए।
हरि खेतान बहुमुखी क्याम्पस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोइरालाले विद्यार्थीहरूले भन्सार प्रशासनसँग प्रत्यक्ष रूपमा जोडिएर व्यावहारिक अनुभव हासिल गरेको उल्लेख गर्दै यस अवसरलाई जीवनको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले भन्सार कार्यालय अन्तर्राष्ट्रिय व्यापारसँग प्रत्यक्ष सम्बन्धित संस्था भएकाले टाइम रिलिज स्टडीमार्फत आयात–निर्यात प्रक्रियामा लाग्ने समयबारे महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
उहाँले सर्वेक्षणमा सहभागी सबै विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्राप्त अनुभवलाई भविष्यको अध्ययन र पेशागत जीवनमा उपयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका लेखनाथ भट्टराई, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा हरि खेतान बहुमुखी क्याम्पस विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हरि गौतम, जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसैगरी व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार रोंगटा, रतन टेमानी, अशोक तुल्स्यान, आलोचन दत्तलगायतको उपस्थिति रहेको कार्यक्रममा शिक्षक रामप्रसाद चापागाईंले सहजीकरण गर्नुभएको थियो।
वीरगञ्ज भन्सार कार्यालयका शाखा अधिकृत रमेश सुकमानीद्वारा हस्ताक्षरित प्रमाणपत्रमा सर्वेक्षण अवधिभर विद्यार्थीहरूले आफ्नो जिम्मेवारी मेहनत, इमानदारी र समर्पणका साथ सम्पन्न गरेको उल्लेख गरिएको छ। प्रमाणपत्रमार्फत सहभागी विद्यार्थीहरूको भावी जीवन तथा आगामी प्रयासहरूको सफलताको कामना समेत गरिएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




