पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्यान्वयनका लागि वीरगञ्जमा सरोकारवालासँग अन्तरक्रिया सम्पन्न
बारा, ११ असार
पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत “पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग अन्तरक्रिया” कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम जेठ २१ गते मंगलबार बाराको पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको प्रशिक्षण हलमा भव्य रूपमा आयोजना गरिएको थियो। पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. राकेश मोहन सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पशु ढुवानीलाई व्यवस्थित, मानवीय तथा कानुनी मापदण्डअनुकूल बनाउने विषयमा सरोकारवालाहरूबीच विस्तृत छलफल भएको थियो।
कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनका तर्फबाट ट्राफिक डिएसपी नवराज थपलिया, प्रहरी निरीक्षक विदुर चन्द्र धमला, प्रहरी हवल्दार गणेश लाल तेली तथा प्रहरी जवान राजाबाबु साह लगायतको सहभागिता रहेको थियो। सुरक्षा अधिकारीहरूले मापदण्ड विपरीत हुने पशु ढुवानी नियन्त्रण तथा कानुनी कारबाहीलाई प्रभावकारी बनाउन पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
त्यसैगरी जितपुर बजारका स्थानीय व्यापारी तथा सरोकारवालाहरू जाहिद आलम, मनोज पासवान, कलाम खाँ पैठान, सलाउद्दिन अन्सारी र सद्दाम हुसेन लगायत जितपुर–सिमरा उपमहानगरपालिकाका पशु चिकित्सक डा. सुवाश झाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले पशु ढुवानीका क्रममा भोग्नुपरेका व्यावहारिक समस्याहरू प्रस्तुत गर्दै मापदण्ड पालना गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।
अन्तरक्रिया कार्यक्रममा डा. राकेश मोहन सिंहले प्रोजेक्टरमार्फत कार्यपत्र प्रस्तुत गर्दै पशु ढुवानी गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड, पशु कल्याणका आधारभूत पक्ष तथा प्रचलित कानुनी व्यवस्थाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रमको समापनपछि सहभागी अधिकारी, प्रहरी टोली तथा व्यवसायीहरूले “पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग अन्तरक्रिया” लेखिएको मुख्य ब्यानरसहित सामूहिक तस्बिर खिचाएका थिए।
सहभागीहरूले पशु ढुवानीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन यस्ता कार्यक्रमहरू कोसेढुङ्गा सावित हुने निष्कर्ष व्यक्त गरेका थिए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




