मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको चार्टर सम्पन्न, पहिलो कार्यसमिति घोषणा
वीरगञ्ज, १६ असार
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा इन्टरएक्ट क्लब अफ मिनिल्याण्ड स्कुलको औपचारिक चार्टर (स्थापना) समारोह वीरगञ्जस्थित त्रिशला होटलमा भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक स्थापना गरिएको इन्टरएक्ट क्लबले विद्यार्थीहरूमा नेतृत्व क्षमता, सामाजिक उत्तरदायित्व, सेवा भावना तथा व्यक्तित्व विकास अभिवृद्धि गर्ने उद्देश्यका साथ आफ्नो औपचारिक यात्रा सुरु गरेको हो।
चार्टर समारोहसँगै क्लबको पहिलो कार्यसमिति पनि घोषणा गरिएको छ। नवगठित कार्यसमितिको चार्टर अध्यक्षमा अनुकम्पा गुप्ता, सचिवमा श्रुति गुप्ता तथा कोषाध्यक्षमा कृष्ण कर्ण चयन भएका छन्। नवनिर्वाचित पदाधिकारीहरूले सामाजिक सेवामूलक गतिविधि, नेतृत्व विकास तथा विद्यार्थी सहभागितामूलक कार्यक्रम सञ्चालन गर्दै विद्यालय र समाजबीच सकारात्मक सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका अध्यक्ष रो. सञ्जय जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लालबाबु पटेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्याब्सन वीरगञ्जका कोषाध्यक्ष सुरज पटेल, रो. सौरभ बर्नवाल, रो. अनिल जैसवाल, मानवसेवा आश्रम वीरगञ्जका देवेश गुप्ता, एलाइड युथ सोसाइटीकी चार्टर अध्यक्ष ओम कुमारी झा, नेपालिज यंग इन्टरप्रेनर्स फोरम (NYEF) वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंह, अमित शर्मा लगायत विभिन्न सामाजिक, शैक्षिक तथा सेवा संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालबाबु पटेलले विद्यालयस्तरमै नेतृत्व विकास र सामाजिक सेवाको संस्कार निर्माण गर्न इन्टरएक्ट क्लबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरूलाई अध्ययनसँगै समाजप्रति जिम्मेवार नागरिकका रूपमा अघि बढ्न आग्रह गर्दै सेवा, अनुशासन र सकारात्मक सोचलाई जीवनशैली बनाउन सुझाव दिए।
अध्यक्ष रो. सञ्जय जोशीले रोटरीको मूलमन्त्र “Service Above Self” लाई आत्मसात् गर्दै इन्टरएक्ट क्लबले विद्यार्थीहरूमा नेतृत्व, मित्रता, सहकार्य र स्वयंसेवाको भावना विकास गर्ने बताए। समाज परिवर्तनको आधार युवा पुस्ता भएकाले विद्यार्थीहरूले सानैदेखि सामाजिक उत्तरदायित्वका गतिविधिमा सक्रिय सहभागिता जनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका वक्ताहरूले विद्यालयस्तरमा इन्टरएक्ट क्लबको स्थापना विद्यार्थीहरूको व्यक्तित्व विकास, सामाजिक चेतना, टोलीमा काम गर्ने क्षमता तथा समुदायप्रतिको दायित्वबोध अभिवृद्धि गर्ने प्रभावकारी माध्यम हुने धारणा व्यक्त गरे। साथै नवगठित क्लबले शिक्षा, वातावरण संरक्षण, स्वास्थ्य, सामाजिक सेवा तथा मानवीय सहयोगका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा पनि व्यक्त गरिएको थियो।
समारोहमा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, रोटरी तथा लायन्स क्लबका सदस्य, प्याब्सनका पदाधिकारी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी, सेवाभावी र सक्षम नेतृत्वका रूपमा अघि बढ्न प्रेरित गरिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




