सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जमा पहिलोपटक रोजगार मेला सम्पन्न, २४ उद्योग–कम्पनीको सहभागिता

न्युज डेस्क
२०८३ असार २२, सोमबार १७:१९

वीरगञ्ज, २२ असार
नेपाल उद्योग वाणिज्य महासंघ र वीरगञ्ज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा वीरगञ्जस्थित भिस्व होटलमा आइतबार एकदिने रोजगार मेला–२०८२ सम्पन्न भएको छ। युवालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले पहिलोपटक आयोजना गरिएको मेलामा उद्योगी, व्यवसायी तथा रोजगारीको खोजीमा रहेका युवाको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन गर्दै मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिया पटेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्न उल्लेख्य बजेट विनियोजन गरेको जानकारी दिए। उनले युवाहरूले केवल रोजगारी खोज्ने मानसिकताभन्दा रोजगार सिर्जना गर्ने उद्यमी बन्नुपर्नेमा जोड दिँदै त्यस्ता योजनाका लागि प्रदेश सरकारले सहुलियतपूर्ण सहयोग उपलब्ध गराउने बताए।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले बेरोजगार युवालाई रोजगारीका अवसरसँग जोड्नुका साथै उद्योग–व्यवसायलाई आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने उद्देश्यले पहिलोपटक रोजगार मेला आयोजना गरिएको बताए। उनले उद्योग–व्यवसाय सञ्चालनका लागि आवश्यक वातावरण सिर्जनामा सरकार अझ प्रभावकारी बन्नुपर्ने आवश्यकता पनि औँल्याए।
अध्यक्ष गौतमका अनुसार मेलामा २४ वटा उद्योग तथा कम्पनीले स्टल राखी आवश्यक जनशक्तिको माग, आवश्यक योग्यता तथा उपलब्ध रोजगारीका अवसरबारे जानकारी दिएका थिए। यसबाट उद्योगी र रोजगारको खोजीमा रहेका युवाबीच प्रत्यक्ष सम्पर्क स्थापित भई दुवै पक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष बिलसुन्दर श्रेष्ठ, मधेश प्रदेश उद्योग विभागका निमित्त महानिर्देशक रिमा साह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधवराज पाल, उपाध्यक्ष मनोजकुमार दास, रोजगार मेला संयोजक तथा सह–सचिव अनुप अग्रवाल, महासंघका सह–निर्देशक हरि पौडेल, नेपाल युवा मञ्च वीरगञ्ज च्याप्टरका अध्यक्ष चन्दन सिंहलगायतले रोजगार मेलाले उद्योगी र युवाबीच सहकार्य बढाउँदै स्थानीय स्तरमा रोजगारी सिर्जनामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
रोजगार मेला संयोजक अनुप अग्रवालले मेलाको उद्देश्य, सञ्चालन प्रक्रिया तथा उपलब्ध रोजगारीका अवसरबारे जानकारी गराएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक क्षितिज तामाङ र रिस्कु तिमिल्सिनाले महासंघले देशका विभिन्न प्रदेशमा यस्ता रोजगार मेला सञ्चालन गर्दै आएको र मधेश प्रदेशमा पहिलोपटक वीरगञ्जमा यसको आयोजना गरिएको जानकारी दिए।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष माधवराज पालले गरेका थिए भने कार्यक्रमको सञ्चालन मनोज उपाध्यायले गरेका थिए। आयोजकका अनुसार यस्ता कार्यक्रमले उद्योग–व्यवसाय र रोजगार खोजिरहेका युवाबीच प्रत्यक्ष समन्वय बढाउँदै रोजगार सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?