सत्य, निष्पक्ष र विश्वसनीय

वीरगञ्जका क्यासिनोमा नेपालीको खुला प्रवेश बारे सांसद बुद्धि प्रसाद पन्तको प्रतिनिधिसभामा प्रश्न

न्युज डेस्क
२०८३ असार २२, सोमबार १९:१४

वीरगञ्ज , २२ असार
पर्सा–१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धि प्रसाद पन्तले वीरगञ्जका क्यासिनोमा नेपाली नागरिकको खुला प्रवेश, सीमावर्ती क्षेत्रमा बढ्दो लागूऔषध तस्करी तथा स्थानीय प्रशासनको भूमिकाबारे प्रतिनिधिसभामा गम्भीर प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी उपरीक्षक (एसपी) को भूमिकामाथि स्वतन्त्र, निष्पक्ष र प्रभावकारी छानबिन गर्न सरकारसँग माग गरे।
नेपालमा विदेशी पर्यटकका लागि मात्र क्यासिनो सञ्चालनको कानुनी व्यवस्था भए पनि वीरगञ्जका तारे होटलमा सञ्चालित क्यासिनोमा नेपाली नागरिक खुलेआम प्रवेश गरिरहेको जनगुनासो लामो समयदेखि आइरहेको उनले बताए। कानुनविपरीत गतिविधि भइरहँदा पनि प्रशासन मौन बसेको भन्दै उनले प्रश्न उठाए।
सांसद पन्तका अनुसार स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराइएको भन्ने गुनासो प्राप्त भइरहेको छ। यसले व्यापारिक समुदाय, युवा उद्यमी तथा मध्यमवर्गीय परिवारमा आर्थिक र सामाजिक समस्या बढाएको उनको भनाइ छ। जुवाको लतका कारण ऋण बढ्ने, व्यवसाय धराशायी हुने तथा पारिवारिक सम्बन्धमा समेत नकारात्मक असर पर्ने घटनामा वृद्धि भइरहेको उनले दाबी गरे।
उनले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सरकारको नीति कार्यान्वयनमा प्रभावकारी हुन नसकेको आरोप लगाउँदै सरकारकै नीति असफल पार्ने गतिविधिमा प्रशासन संलग्न रहेको आशंका व्यक्त गरे। यस विषयमा निष्पक्ष छानबिन अपरिहार्य रहेको उनको भनाइ थियो।
सांसद पन्तले वीरगञ्ज–रक्सौल नाका हुँदै भारततर्फ गाँजा र चरेसको तस्करी भइरहेको विषय पनि सदनमा उठाए। भारतीय सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा पटक–पटक ठूलो परिमाणमा लागूऔषध बरामद गरिरहेको अवस्थामा नेपाली सुरक्षा निकायले प्रभावकारी नियन्त्रण गर्न नसकेको भन्दै उनले प्रश्न गरे।
“सामान्य नागरिकले ल्याएको सानो सामानमा कडाइ हुन्छ, तर ठूलो परिमाणमा लागूऔषध र तस्करीका सामग्री कसरी सीमा पार गर्छन्?” भन्दै उनले सीमामा रहेको निगरानी प्रणालीको प्रभावकारितामाथि पनि प्रश्न उठाए।
सांसद पन्तले केही दिनअघि गृहमन्त्रीको पर्सा भ्रमणका क्रममा स्थानीयवासीले सार्वजनिक रूपमा प्रहरी प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेको प्रसंग पनि स्मरण गराउँदै वीरगञ्जका क्यासिनोमा नेपाली नागरिकको प्रवेश, सीमावर्ती लागूऔषध तस्करी तथा स्थानीय प्रशासनको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?