क्विन्टलका क्विन्टल गाँजा बाहिरिन्छ, घरायसी सामान बोक्नेलाई सास्ती’ : सांसद बुद्धि पन्त
वीरगञ्ज, २३ असार
पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद बुद्धि पन्त (हरि पन्त) ले नेपाल–भारत सीमा नाकामा देखिएको सुरक्षा व्यवस्थाको विरोधाभासप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ठूला परिमाणमा अवैध लागुऔषध तस्करी भइरहँदा सुरक्षा संयन्त्र मौन रहने तर दैनिक उपभोग्य सामान ल्याउने सर्वसाधारणमाथि अनावश्यक कडाइ गरिने अवस्था अन्त्य गर्न माग गरे।
सांसद पन्तले नेपालतर्फको सुरक्षा निगरानी कमजोर हुँदा वा मिलेमतोका कारण ठूलो परिमाणमा गाँजा तथा चरेस भारततर्फ तस्करी भइरहेको आरोप लगाए। उनका अनुसार भारतीय प्रहरीले सीमा नजिकै पटक–पटक क्विन्टलका क्विन्टल गाँजा तथा चरेससहित सवारीसाधन र व्यक्तिहरू पक्राउ गरिरहेको तथ्यले नेपाली सीमा नाकाबाट अवैध तस्करी सहज रूपमा भइरहेको संकेत गर्छ।
उनले संसद्मा भने, “भारतको सीमा नाका नजिक भारतीय प्रहरीले क्विन्टलका क्विन्टल गाँजा र चरेससहित गाडी र मानिस पक्राउ गरिरहेका छन्। यसले हाम्रा सीमा नाकाबाट कति सहज रूपमा तस्करी भइरहेको छ भन्ने स्पष्ट देखाउँछ।”
सांसद पन्तले सीमा क्षेत्रका स्थानीय नागरिकले दैनिक उपभोगका लागि नुन, चिनी, तेल, लत्ताकपडा लगायतका सामान ल्याउँदा भने नेपाली सुरक्षाकर्मीबाट अनावश्यक जाँच, केरकार र दुःख पाउने गरेको गुनासो पनि उठाए। ठूला तस्करहरू उम्किने तर सर्वसाधारणलाई अपराधीसरह व्यवहार गरिने प्रवृत्तिले राज्यप्रतिको नागरिकको विश्वास कमजोर बनाएको उनको भनाइ थियो।
उनले गृह मन्त्रालयलाई सीमा नाकामा हुने सम्भावित ‘सेटिङ’ अन्त्य गर्दै वास्तविक तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्न र सीमा क्षेत्रमा नागरिकमैत्री सुरक्षा व्यवस्था लागू गर्न आग्रह गरे।
सांसद पन्तको अभिव्यक्तिले सीमा सुरक्षा व्यवस्थापन, तस्करी नियन्त्रण तथा सर्वसाधारणप्रतिको सुरक्षा निकायको व्यवहारबारे गम्भीर बहस सुरु गरेको छ। सीमा क्षेत्रमा वास्तविक अपराधीमाथि कडा निगरानी र निर्दोष नागरिकप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




