वीरगञ्ज महानगरपालिकाको आन्दोलन फिर्ता, १ महिनाको तलब निकासा गर्ने सहमति
वीरगञ्ज, २६ असार
बक्यौता तलब–सुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलनमा उत्रिएका वीरगन्ज महानगरपालिकाका कर्मचारीले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। कार्यवाहक नगरप्रमुख इम्तियाज आलम र प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरासँग बिहीबार भएको वार्तामा सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन्।
दुई महिनाको बक्यौता तलब उपलब्ध गराउन माग गर्दै बिहीबार बिहानदेखि आन्दोलनमा उत्रिएका कर्मचारीसँग भएको छलफलमा आजै एक महिनाको तलब निकासा गर्ने सहमति भएको आन्दोलनका अगुवा तथा महानगरपालिकाका कर्मचारी मुकेश गुप्ताले जानकारी दिए। सहमतिपछि कर्मचारी अपराह्न ३ बजेदेखि नियमित काममा फर्किएका छन्।
गुप्ताका अनुसार कार्यवाहक नगरप्रमुख आलमले आजै कर्मचारीको एक महिनाको तलब निकासा गरिने जानकारी गराएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत बोहराको उपस्थितिमा कर्मचारीको खातामा तलब जम्मा गरिने आश्वासन पाएपछि सबै कर्मचारी नियमित काममा फर्किएको उनले बताए।
यसअघि बिहानैदेखि कर्मचारीले कार्यालयको कामकाज अवरुद्ध गर्दै आन्दोलन गरेपछि विभिन्न सेवा लिन महानगरपालिका पुगेका सेवाग्राहीले सास्ती खेप्नुपरेको थियो। आन्दोलन स्थगित भएसँगै महानगरपालिकाको नियमित सेवा प्रवाह र प्रशासनिक कामकाज पुनः सुचारु भएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




