सत्य, निष्पक्ष र विश्वसनीय

६ वर्षपछि अन्तिम चरणमा नारायणी अस्पतालको क्याथ ल्याब जडान, अब वीरगञ्जमै मुटुरोग उपचारको आशा

न्युज डेस्क
२०८३ असार २५, बिहीबार १५:२४

वीरगञ्ज, २५ असार

वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब (Cath Lab) मेसिनको जडान कार्य अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार उपकरण जडानको काम अन्तिम अवस्थामा पुगेको छ र छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ।
२०७६ चैतमा खरिद गरिएको उक्त क्याथ ल्याब मेसिन विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले हालसम्म सञ्चालनमा आउन सकेको थिएन। अहिले जडान प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नारायणी अस्पतालबाट मुटुरोगसम्बन्धी विशिष्टीकृत जाँच तथा उपचार सेवा सुरु गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार क्याथ ल्याब सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशका साथै आसपासका जिल्लाका बिरामीले मुटुसम्बन्धी परीक्षण तथा उपचारका लागि काठमाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम हुनेछ।
सेवा सञ्चालनसँगै मुटुरोगका बिरामीले आफ्नै प्रदेशमै गुणस्तरीय, सहज र समयमै उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। लामो समयदेखि प्रतीक्षामा रहेको यो सेवा सञ्चालनमा आएपछि मधेस प्रदेशको स्वास्थ्य सेवामा महत्वपूर्ण उपलब्धि थपिने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?