सत्य, निष्पक्ष र विश्वसनीय

सर्लाहीमा ४८ बोतल प्रतिबन्धित कफ सिरपसहित दुई युवक पक्राउ

न्युज डेस्क
२०८३ असार २४, बुधबार १९:०१

बिरगंज , २४ असार
जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रतिबन्धित लागूऔषधजन्य कफ सिरपसहित दुई युवकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असार २३ गते राति करिब ११ बजे लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त प्रहरी टोलीले लालबन्दी नगरपालिका–१ स्थित नवलपुर चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा तीन वटा मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा एउटा मोटरसाइकलको बाँया साइडको लगेजमा रातो–खैरो प्लास्टिकको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ‘ANTI ALLERGIC’ नामक १०० एमएल क्षमताका ४८ बोतल प्रतिबन्धित कफ सिरप बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विकेश कुमार राम र निरोश महतोलाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र पारिएको छ। पक्राउ परेकालाई सर्लाही जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।
लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि सीमा क्षेत्र तथा राजमार्गमा निगरानी र सवारी चेकजाँचलाई थप कडाइ गरिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?