सत्य, निष्पक्ष र विश्वसनीय

कार्यालयभित्रै कर्मचारीमाथि कुटपिटपछि कालिकामाई गाउँपालिकामा पेन डाउन, सेवा ठप्प

न्युज डेस्क
२०८३ असार २४, बुधबार १४:४०

वीरगञ्ज, २४ असार
पर्साको कालिकामाई गाउँपालिकामा कार्यरत एक कर्मचारीमाथि कार्यालय परिसरमै कुटपिट भएको घटनाको विरोधमा गाउँपालिकाका कर्मचारीहरूले बुधबारदेखि पेन डाउन आन्दोलन सुरु गरेका छन्। दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गर्दै कर्मचारीहरूले कार्यालयको सम्पूर्ण कामकाज ठप्प पारेका हुन्।
मंगलबार गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दनकुमार चौरसियामाथि कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको छ। घटनापछि कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन्।
कर्मचारीहरूले कार्यालयमै कार्यरत कर्मचारीमाथि भएको आक्रमणले आफ्नो सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। आन्दोलनका कारण गाउँपालिकाको सम्पूर्ण प्रशासनिक सेवा प्रभावित भएको छ भने पालिकाअन्तर्गतका विद्यालयसमेत बन्द भएका छन्।
उता, इलाका प्रहरी कार्यालय पोखरियाले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। अन्य संलग्न व्यक्तिको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?