सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा सुधार र सुशासनमा जोड
बिरगंज , २५ असार
सखुवा प्रसौनी गाउँपालिका ले बुधबार गाउँपालिका कार्यालय परिसरस्थित खुलामञ्चमा गाउँपालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, सामाजिक सुरक्षा, विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित गुनासा, सुझाव र समस्याहरू खुलेर प्रस्तुत गरेका थिए। सहभागीहरूले जनप्रतिनिधि तथा कर्मचारीबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जसवन्त यादव ले सार्वजनिक सुनुवाइ नागरिकका वास्तविक समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिने प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले नागरिकबाट प्राप्त गुनासा तथा सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आवश्यक सुधारका कार्यहरू अघि बढाइने जानकारी दिनुभयो।
अध्यक्ष यादवले गाउँपालिकाले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै जनसहभागितामूलक विकासलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, विकास निर्माण तथा सेवा प्रवाहमा देखिएका कमीकमजोरी सुधार गर्दै जनअपेक्षाअनुसार गुणस्तरीय सेवा उपलब्ध गराइने बताउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सरोकारवाला निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइमार्फत प्राप्त सुझाव तथा गुनासालाई आगामी योजना तथा नीति निर्माणमा समेटिने गाउँपालिकाले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




