सिंहदरबार गेटमै निहारिका राजपुत र बिनु यादवको धर्ना, पास हुँदाहुँदै प्रवेश रोकिएको आरोप
गृह मन्त्रालय पुगेर आफ्ना समस्या राख्न गएका निहारिका राजपुत र बिनु यादवलाई सिंहदरबार प्रवेशमा रोक लगाएपछि गेटमै धर्ना। निहारिका सानो छोरासहित पानीमा बसिरहँदा बिनु यादव सडकमै सुतेर विरोध जनाइन्।
काठमाडौँ, २९ असार
सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर आफ्ना समस्या राख्न हिँडेका दुई महिला—विगतमा ‘कुमारी आमा’का रूपमा परिचित निहारिका राजपुत र ‘घरायसी हिंसा पीडित’ बिनु यादव—लाई सिंहदरबार प्रवेशमा रोक लगाएपछि उनीहरू गेटमै धर्नामा बसेका छन्।
उनीहरू गृह मन्त्रालयमा आफ्ना समस्या राख्ने उद्देश्यले पुगेका थिए। निहारिकासँग उनका नाबालक छोरा पनि रहेका छन्। उनीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की एक महिला सांसदमार्फत सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको बताइएको छ।
तर, पास हुँदाहुँदै पनि प्रहरीले ‘माथिको आदेश’ भन्दै भित्र प्रवेश गर्न नदिएको निहारिकाले आरोप लगाएकी छन्।
विरोध जनाउँदै निहारिकाले भनिन्, “हाम्रो लागि यो सरकार होइन? केही पीडितलाई गृहमन्त्रीले आफैँ खोजी–खोजी भेट्ने, हामीलाई भने सिंहदरबारभित्र छिर्न पनि नदिने? हामी यहीँ धर्ना बस्छौँ।”
प्रहरीले प्रवेश गर्न नमिल्ने बताएपछि बिनु यादवले सडकमै सुतेर विरोध जनाएकी थिइन्। निहारिका भने सानो छोरा च्यापेर वर्षामा गेटबाहिर बसेकी देखिएकी छन्। प्रहरीले उनीहरूलाई गेटबाट साइडमा सारे पनि पक्राउ भने नगरेको जनाएको छ।
घटनापछि सिंहदरबारको मुख्य गेट क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




