सम्पत्ति शुद्धीकरण मुद्दा : एमाले उपाध्यक्ष विष्णु पौडेल साधारण तारेखमा रिहा
काठमाडौं , १ साउन
विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा थुनामा नराखी साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
शुक्रबार विशेष अदालतका सदस्य न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले प्रारम्भिक सुनुवाइपछि पौडेललाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
अदालतको आदेशअनुसार अब पौडेल थुनाबाहिरै बसेर तोकिएको मितिमा अदालतमा उपस्थित हुँदै मुद्दाको सुनुवाइ प्रक्रिया सामना गर्नेछन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टलगायतको गैरकानुनी रूपमा आर्जित सम्पत्ति लुकाउन तथा त्यसको वास्तविक स्रोत छिपाउने वातावरण निर्माण गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत मतियारको भूमिका खेलेको आरोपमा पौडेलसहित ६ जना व्यक्ति र १० कम्पनी गरी कुल १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
यसअघि पौडेललाई यही असार ८ गते सुर्खेतमा पार्टीको कार्यक्रमस्थलबाट पक्राउ गरिएको थियो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





