सत्य, निष्पक्ष र विश्वसनीय

‘मास्टर्नी’को प्रचारात्मक गीत विवाद : प्रियंका कार्कीद्वारा सार्वजनिक क्षमायाचना, गीत हटाइयो

न्युज डेस्क
२०८३ श्रावण १, शुक्रबार २२:००

काठमाडौं, १ साउन
चलचित्र ‘मास्टर्नी’ की निर्माता तथा अभिनेत्री प्रियंका कार्कीले प्रचारात्मक गीतलाई लिएर उत्पन्न विवादप्रति सार्वजनिक रूपमा क्षमायाचना गरेकी छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत वक्तव्य जारी गर्दै कार्कीले शिक्षक समुदाय र दर्शकहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै माफी मागेकी हुन्।

उनले गायक दुर्गेश थापाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत चलचित्रभित्र समावेश गरिएको आधिकारिक गीत नभई प्रचारप्रसारका लागि मात्र तयार पारिएको स्पष्ट पारेकी छन्। उक्त गीत चलचित्रको कथावस्तुसँग कुनै सम्बन्ध नरहेको उनको भनाइ छ।

गीतमा प्रयोग भएका केही शब्द र दृश्यका कारण शिक्षक पेसा तथा त्यससँग जोडिएका व्यक्तित्वहरूको गरिमामा आँच पुगेको भन्दै उठेका गुनासाप्रति आफू गम्भीर रहेको कार्कीले उल्लेख गरेकी छन्। कला र मनोरञ्जन प्रस्तुत गर्ने क्रममा समाजको सम्मानित पेसाप्रति नकारात्मक प्रभाव पार्ने कुनै मनसाय नरहेको बताउँदै उनले अनजानमा भएको त्रुटिप्रति व्यक्तिगत रूपमा तथा आफ्नो सम्पूर्ण टिमका तर्फबाट क्षमायाचना गरेकी छन्।

कार्कीले कसैको आस्था, पेसा वा सम्मानमा ठेस पुर्‍याउने उद्देश्य कहिल्यै नरहेको उल्लेख गर्दै यस घटनालाई आफ्नो गल्ती सच्याउने अवसरका रूपमा लिएको बताएकी छन्। उनले सम्पूर्ण शिक्षक–शिक्षिका, नेपाल शिक्षक महासंघ तथा यस घटनाबाट आहत भएका सबैप्रति सम्मान व्यक्त गर्दै माफी मागेकी छन्।

विवादलाई गम्भीर रूपमा लिँदै प्रचारात्मक गीत दुर्गेश थापाको युट्युब च्यानलबाट स्थायी रूपमा हटाइसकिएको र आफ्ना सबै सामाजिक सञ्जालबाट पनि त्यससँग सम्बन्धित सामग्री हटाइएको जानकारी कार्कीले दिएकी छन्।

दर्शकबाट प्राप्त सुझाव, आलोचना र प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गरेको उल्लेख गर्दै उनले आगामी दिनमा सिर्जना र विषयवस्तु छनोटमा अझ संवेदनशील, जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरेकी छन्। साथै, कलाकारिता यात्रामा निरन्तर साथ र सहयोग गर्ने दर्शकप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि मार्गदर्शनको अपेक्षा गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?