सत्य, निष्पक्ष र विश्वसनीय

सुकुना माविमा छात्रामाथि यौन दुर्व्यवहारको आरोप, दुई शिक्षकसहित तीन जना पक्राउ

न्युज डेस्क
२०८३ श्रावण ४, सोमबार १५:४७

विराटनगर , ४ साउन
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूमाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षक र एक सवारी चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई (सवारी चालक), सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के (शिक्षक) रहेका छन्।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, शिक्षक अबिरल मास्केले सामाजिक सञ्जालको म्यासेन्जरमार्फत छात्राहरूलाई भेट्न प्रस्ताव गर्ने तथा अमर्यादित सन्देश पठाउने गरेको आरोप छ। पटक–पटक यस्ता सन्देश आएपछि विद्यार्थीहरू आन्दोलनको तयारीमा रहेका बेला प्रहरीले सोमबार बिहानै तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका शिक्षकहरूले छात्राहरूलाई परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिँदै अमर्यादित व्यवहार गरेको देखिएको प्रहरीले जनाएको छ। घटनामा यौनजन्य दुर्व्यवहार भएको आशंकामा थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भए कानुनबमोजिम कारबाही गरिने जनाएको छ। साथै, अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी नगर्न र अनुसन्धानमा सहयोग गर्न सबैमा अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?