सत्य, निष्पक्ष र विश्वसनीय

सप्तरीमा ३ हजार ३३२ किलोभन्दा बढी गाँजासहित तीन सवारीसाधन नियन्त्रणमा

न्युज डेस्क
२०८३ श्रावण ७, बिहीबार १४:५९

सप्तरीको तिलाठी कोइलाडी–५ मा प्रहरीले तीनवटा सवारीसाधनबाट ३ हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गर्दै सवारीसाधन नियन्त्रणमा लिएको छ। चालकहरू फरार रहेकाले खोजी तथा थप अनुसन्धान जारी छ।

सप्तरी, ७ साउन
सप्तरी प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ क्षेत्रमा ओसारपसार भइरहेको ३ हजार ३३२.४६० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हनुमाननगरबाट रामपुर मल्हनियातर्फ जाँदै गरेका तीनवटा सवारीसाधनमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो। घटनामा प्रयोग भएका तीनवटै सवारीसाधन नियन्त्रणमा लिइएको छ भने चालकहरू फरार रहेका छन्।

बरामद गरिएको गाँजामध्ये बा.प्र.०१–०२५ च ०४३६ नम्बरको स्कर्पियोबाट १९ बोरामा रहेको ५२३.६४० किलोग्राम, प्र १–०४–००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरामा रहेको १ हजार ६६८.११० किलोग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको अर्को पिकअपबाट ३३ बोरामा रहेको १ हजार १७०.७१० किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

फरार रहेका चालकहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै, गाँजाको स्रोत, गन्तव्य तथा घटनामा संलग्न अन्य व्यक्तिको पहिचानका लागि थप अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?