चुनदेवीमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काठमाडौँ, ९ साउन
काठमाडौँको तारकेश्वर नगरपालिका–१, चुनदेवी क्षेत्रमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेका अनुसार तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीया रश्मी रिजालको शव शनिबार कारभित्र जलेको अवस्थामा फेला परेको हो।

प्रहरीका अनुसार स्थानीयवासीले कारमा आगलागी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणमा लिएपछि कारभित्र एक महिलाको जलेको शव फेला परेको प्रहरीले जनाएको छ।
शवको प्रारम्भिक पहिचान रश्मी रिजालका रूपमा भएको प्रहरीले जनाएको छ। घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। आगलागी दुर्घटनावश भएको हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरिएको छ भने शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। पोस्टमार्टम प्रतिवेदन र फरेन्सिक परीक्षणपछि घटनाको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ। कारमा आगलागी कसरी भयो, घटनामा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीको भनाइ छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानको क्रममै सार्वजनिक गरिने जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





