सत्य, निष्पक्ष र विश्वसनीय

देवानगञ्ज गोलीकाण्ड : गोली लागेर घाइते जयप्रकाश मेहताको मृत्यु, मृतक संख्या २ पुग्यो

न्युज डेस्क
२०८३ श्रावण १४, बिहीबार १४:५१

विराटनगर, १४ साउन
सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी गोलीकाण्डमा घाइते भएका अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

देवानगञ्ज गाउँपालिका–३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मेहतालाई दिउँसो १:२४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

उक्त घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

आइतबार राति भएको घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?