देवानगञ्ज घटनाप्रति नेपाल मुस्लिम इत्तेहाद संगठनको दुःख व्यक्त, निष्पक्ष छानबिनको माग
इनरुवा, १४ साउन
नेपाल मुस्लिम इत्तेहाद संगठन, सुनसरी जिल्ला समितिले देवानगञ्ज गाउँपालिका–३ मा भएको दुःखद तथा हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिनको माग गरेको छ।
जिल्ला अध्यक्ष तुफेल अहमद अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

संगठनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै सम्पूर्ण समुदायलाई संयम अपनाउन, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा कानुनी शासनप्रति विश्वास कायम राख्न आग्रह गरिएको छ।
विज्ञप्तिमा कुनै पनि प्रकारका अफवाह, भ्रम वा उत्तेजनामा नलागी शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबै नागरिकलाई अपिल गरिएको छ। नेपाल बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुक भएकाले आपसी एकता, सहिष्णुता र भाइचाराको संरक्षण गर्नु सबै नेपालीको साझा दायित्व भएको संगठनले उल्लेख गरेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





