सत्य, निष्पक्ष र विश्वसनीय

सुनसरीमा प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु, मृतकको संख्या तीन पुग्यो

न्युज डेस्क
२०८३ श्रावण १९, मंगलवार १४:२२

सुनसरी , १९ साउन
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार बिहान २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार रवीन्द्रको मृत्यु भएको जानकारी मंगलबार बिहान प्राप्त भएको हो। साउन १० गते भएको झडपका क्रममा उनको बायाँ तिघ्रामा गोली लागेको थियो।

गम्भीर घाइते मेहताको प्रारम्भिक उपचार विराट नर्सिङ होममा गरिएको थियो। थप उपचारका लागि उनलाई काठमाडौंस्थित शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको बायाँ खुट्टा काटिएको थियो।

साउन १० गते दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा १० जना गम्भीर घाइते भएका थिए। घटनाकै दिन देवानगन्ज गाउँपालिका–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो।

रवीन्द्रको मृत्यु भएपछि देवानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

सरकारसँग सातबुँदे सहमति भएपछि शुक्रबार ओमप्रकाश र जयप्रकाशको शव गोली चलेको स्थानमै अन्त्येष्टि गरिएको थियो।

यसै घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको समेत मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?