लक्ष्मी खड्काको मृत्यु प्रकरण : माइती पक्षद्वारा निष्पक्ष अनुसन्धानको माग
लक्ष्मी खड्काको मृत्यु प्रकरणमा माइती पक्षको गम्भीर शंका, निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग। न्याय नपाए आन्दोलन गर्ने चेतावनी।

वीरगञ्ज, १८ साउन
पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले निष्पक्ष तथा प्रभावमुक्त छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।
रिपोर्टर्स क्लब नेपाल, वीरगञ्जले सोमबार बसपार्कस्थित होटल पशुपतिमा आयोजना गरेको पत्रकार सम्मेलनमा मृतकका परिवारजनले लक्ष्मीको मृत्यु आत्महत्या नभई योजनाबद्ध हत्या भएको दाबी गरेका हुन्।

साउन ६ गते बिहान आफ्नै घरछेउको गोठमा झुन्डिएको अवस्थामा फेला परेकी लक्ष्मीको घटनालाई आत्महत्याको रूप दिन खोजिएको माइती पक्षको आरोप छ। मृतककी आमा देवकुमारी खड्काले छोरीका श्रीमान् रेशमबहादुर सिलवाल, उनकी दिदी मिना सिलवाल अगस्ती र भिनाजु नवराज अगस्ती घटनामा संलग्न रहेको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरिन्।
मृतकका मामा इन्द्रबहादुर बस्नेतले आर्थिक लेनदेनका विषयमा लामो समयदेखि विवाद रहेको उल्लेख गर्दै घटनामा योजनाबद्ध हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे। घटनास्थलको अवस्था, मृतकको शरीरमा देखिएका परिवर्तन तथा घरभित्रको अवस्थाले पनि घटनामाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
माइती पक्षले चिकित्सकीय प्रतिवेदनमा आत्महत्या उल्लेख भए पनि त्यसप्रति असहमति जनाउँदै घटनाको वास्तविकता बाहिर ल्याउन पुनः निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेको छ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले पनि घटनाको सत्यतथ्य सार्वजनिक गर्न निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताएका छन्। पीडित परिवारलाई न्याय दिलाउन स्थानीय तहबाट आवश्यक सहयोग गर्ने उनीहरूले प्रतिबद्धता जनाए।
परिवारका अनुसार घटनाको १३ दिन बितिसक्दा पनि उनीहरूले शव बुझेका छैनन्। दोषीमाथि कानुनी कारबाही र घटनाको वास्तविकता सार्वजनिक नभएसम्म शव नबुझ्ने अडान उनीहरूले राखेका छन्।
माइती पक्षले प्रहरी प्रशासनको भूमिकामाथि समेत प्रश्न उठाउँदै स्वतन्त्र छानबिनको माग गरेको छ। न्याय नपाए आन्दोलन गर्ने र आवश्यक परे काठमाडौंसम्म पुगेर न्यायका लागि संघर्ष गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





