आदर्शनगरमा सडक विस्तारपछि झन् अस्तव्यस्तता, ढलेको विद्युत् पोल र फोहोर पानीले स्थानीय त्रसित
आदर्शनगरको मुख्य चोकमा लामो समयदेखि जोखिमपूर्ण अवस्थामा रहेको ढलेको विद्युत् पोल र सडकमा फैलिएको फोहोर पानी। सडक विस्तारपछि व्यवस्थापनमा लापरबाही भएको स्थानीयको आरोप।
वीरगञ्ज, १७ साउन
वीरगञ्ज महानगरपालिकाको प्रमुख व्यापारिक क्षेत्र आदर्शनगरमा सडक विस्तारको काम सम्पन्न भए पनि त्यसपछिको व्यवस्थापनमा सम्बन्धित निकायले चरम लापरबाही गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
करिब १५ दिनदेखि आदर्शनगरको मुख्य चोकमा विद्युत्को पोल ढलेर जोखिमपूर्ण अवस्थामा रहँदा पनि नेपाल विद्युत् प्राधिकरण र वीरगञ्ज महानगरपालिकाले तत्काल व्यवस्थापनमा चासो नदिएको स्थानीयको गुनासो छ। अत्यधिक भीडभाड हुने क्षेत्रमा जुनसुकै बेला पोल ढल्न सक्ने अवस्था रहेकाले ठूलो दुर्घटना हुन सक्ने जोखिम रहेको उनीहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार समयमै पोल व्यवस्थापन नगरिए मानवीय तथा भौतिक क्षति हुन सक्छ। सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधानमा पर्याप्त पहल नभएको उनीहरूको आरोप छ।
यसैगरी, सडक विस्तारका क्रममा भत्काइएका घरहरू संरक्षणविहीन हुँदा चोरीको जोखिमसमेत बढेको छ। भत्काइएका संरचनामा रहेका फलामका रड, स्टिल तथा अन्य निर्माण सामग्री चोरी हुन थालेको स्थानीयले बताएका छन्।
https://www.facebook.com/share/v/1abcfZv3ea/
दुई दिनअघि मात्रै आदर्शनगरको मुख्य चोकमा नालामाथि राखिएको फलामको दुई थान स्ल्याब चोरी भएको घटनाले स्थानीयलाई थप त्रसित बनाएको छ। स्थानीयका अनुसार रातिको समयमा निर्माण सामग्री तथा अन्य सामान चोरी हुने क्रम बढेको छ।
एक स्थानीयवासीले भने, “घर भत्काउने काम त भयो, तर त्यसको सुरक्षा कसले गर्ने? राति खुलेआम चोरी भइरहेको छ, प्रहरी प्रशासन र महानगरपालिका दुवै मौन छन्।”
सडक विस्तारपछि विद्युत् लाइन व्यवस्थापन, ढल निकास तथा अन्य आधारभूत पूर्वाधारसमेत अस्तव्यस्त बनेका छन्। कतिपय स्थानमा विद्युत्का तार झुन्डिएका छन् भने ढल निकास अवरुद्ध हुँदा फोहोर पानी सडकमा बग्ने गरेको छ।
विशेषगरी आदर्शनगरको मुख्य चोकमा नालीको दुर्गन्धयुक्त पानी सडकभर फैलिँदा पैदलयात्री, व्यवसायी तथा सवारी चालकले दैनिक सास्ती खेपिरहेका छन्। लामो समयदेखि समस्या दोहोरिँदा पनि महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण, खानेपानी तथा सरसफाइसम्बन्धी निकाय र अन्य जिम्मेवार कार्यालयबीच प्रभावकारी समन्वय हुन नसकेको स्थानीयको गुनासो छ।
फोहोर पानीका कारण दुर्गन्ध फैलिनुका साथै सरसफाइमा समस्या उत्पन्न भएको छ। यसले डेंगु, झाडापखाला लगायतका संक्रामक रोगको जोखिम बढाउन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।
व्यापारिक केन्द्र भएकाले दैनिक हजारौँ मानिसको आवतजावत हुने आदर्शनगर क्षेत्रमा तत्काल सुधारात्मक कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ।
उनीहरूले ढलेको विद्युत् पोल तत्काल हटाई सुरक्षित व्यवस्थापन गर्न, चोरी नियन्त्रणका लागि सुरक्षा निगरानी बढाउन, ढल निकासको स्थायी समाधान गर्न तथा सडक विस्तारपछि बाँकी रहेका पूर्वाधारसम्बन्धी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
समस्या समयमै समाधान नगरी कुनै अप्रिय घटना भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने चेतावनीसमेत स्थानीयवासीले दिएका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





