भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा
काठमाडौं, १८ साउन
नेपाल शिक्षक महासंघले आगामी भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको परिषद् बैठकले शिक्षकका विभिन्न माग सम्बोधन गर्न आन्दोलनमा जाने निर्णय गरेको महासचिव तुलाबहादुर थापाले जानकारी दिएका छन्।
महासचिव थापाका अनुसार आन्दोलनको ठ्याक्कै मिति र कार्यक्रम भने विस्तारित कार्यालय बैठकले तय गर्नेछ।

महासंघले शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आएको छ। त्यस्तै, शिक्षा नियमावलीको १०औँ संशोधनमा समेटिएका केही प्रावधानप्रति पनि महासंघले असहमति जनाएको छ। महासचिव थापाले १०औँ संशोधनमा भएका प्रावधान आफूहरूका लागि स्वीकार्य नरहेको बताएका छन्।
त्यसैगरी, शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकको उचित व्यवस्थापन हुनुपर्ने माग पनि महासंघले अघि सारेको छ।
महासंघले आफ्ना माग सम्बोधनका लागि सरकारमाथि दबाब बढाउने उद्देश्यले भदौदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी गरेको हो।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





